बाढी उद्धारमा ढिलाइ भएको भन्दै गुनासो बढेपछि रवि लामिछाने सक्रिय

२ हप्ता अगाडि
बाढी उद्धारमा ढिलाइ भएको भन्दै गुनासो बढेपछि रवि लामिछाने सक्रिय

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतमा ढिलाइ भएको भन्दै सरकारप्रति असन्तुष्टि बढिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उद्धार र राहतको अवस्थाबारे सक्रियता बढाएका छन्।

लामिछानेले आइतबार बाढीबाट प्रभावित रसुवा, धादिङ र नुवाकोटका विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुखसँग टेलिफोन संवाद गरी स्थानीय अवस्थाबारे जानकारी लिएका हुन्।

पार्टी कार्यालयमा बसेर उनले बाढी प्रभावित पालिका प्रमुखसँगै सम्बन्धित जिल्लाका रास्वपा सभापतिसँग पनि छलफल गरेका थिए।

छलफलका क्रममा पालिका प्रमुखहरूले प्रभावित क्षेत्रमा सरकारले प्रभावकारी रूपमा उद्धार गर्न नसकेको गुनासो गरेका थिए। उनीहरूले सरकारको ध्यान एकै क्षेत्रमा केन्द्रित भएको र अन्य प्रभावित क्षेत्रमा राहत तथा उद्धार पर्याप्त रूपमा पुग्न नसकेको बताएका थिए।

उनीहरूले शव व्यवस्थापन, फसेका नागरिकको उद्धार, सडक तथा पुल सञ्चालन, सञ्चार सम्पर्क र विद्युत् सेवा पुनः सञ्चालनका लागि तत्काल सहजीकरण गर्न लामिछानेलाई आग्रह गरेका थिए।

जवाफमा लामिछानेले सरकारसँग यस विषयमा कुराकानी भइरहेको भन्दै उद्धार तथा राहत कार्यलाई थप तीव्रता दिन पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

लामिछानेले बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसँग पनि प्रभावित क्षेत्रको अवस्थाबारे छलफल गर्ने जानकारी दिएका छन्।

छलफलमा पार्टीका महामन्त्री विपिन आचार्य, प्रवक्ता जगदीश खरेल, सचिवालय सदस्य गणेश पराजुलीसहित सांसदहरू समीक्षा बास्कोटा, विश्वराज पोखरेल तथा केन्द्रीय सदस्य मिलन लिम्बुलगायत सहभागी थिए।

केन्द्रीय सदस्य लिम्बुका अनुसार लामिछानेले पार्टी कार्यालयमै बसेर बाढी प्रभावित जिल्लामा भइरहेको उद्धार तथा राहतको अवस्थाबारे जानकारी लिएका थिए।

गत भदौ १० गते रसुवागढीबाट करिब २० किलोमिटर उत्तरतर्फको हिमाली क्षेत्रमा आएको हिमपहिरोपछि ल्हेन्दे खोलामा आएको भीषण बाढीले रसुवागढी, टिमुरे, स्याफ्रुबेँसी र बेत्रावतीलगायत क्षेत्र प्रभावित भएका छन्।

यस्तै, नुवाकोटको देवीघाट, त्रिशूली, सोलेलगायत बजार तथा नदी तटीय क्षेत्रका घरहरूमा ठूलो क्षति पुगेको छ।

बाढीका कारण ठूलो संख्यामा मानिस सम्पर्कविहीन छन् भने केही नागरिक सुरुङभित्र फसेको बताइएको छ। उद्धार कार्यमा ढिलाइ भएको भन्दै प्रभावित क्षेत्रबाट सरकारसँग तत्काल उद्धार तथा राहतको माग भइरहेको छ।