काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा धेरै भारी वर्षा हुने सम्भावना छ।
मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली र पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस र कोसी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, पहाडी भूभाग तथा वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ।
राति झन् सक्रिय हुने मनसुन
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ। कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा पनि मध्यम वर्षा तथा हिमपात हुन सक्ने विभागले जनाएको छ।
मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि थोरै स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा हुन सक्नेछ।
राति कोसी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका थोरै स्थानमा तथा वाग्मती प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
विभागले विशेषगरी कोसी र वाग्मती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेकाले ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ।