काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुन छुटेका नेता-कार्यकर्तालाई समेट्न क्रियाशील सदस्यता अद्यावधिकका लागि पाँच दिनको अन्तिम अवसर दिएको छ।
कांग्रेसले भदौ १५ देखि १९ गतेसम्म क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय तोकेको हो। सर्वोच्च अदालतको आदेशपछि महाधिवेशनको बाटो सुनिश्चित भएसँगै कानुनी प्रक्रियाको फैसला कुरेर बसेका तथा विभिन्न कारणले सदस्यता अद्यावधिक गर्न छुटेका नेता–कार्यकर्तालाई समेट्ने उद्देश्यले समय थपिएको पार्टीले जनाएको छ।
कांग्रेस महामन्त्री एवं सदस्यता व्यवस्थापन समितिका संयोजक प्रदीप पौडेलले कसैले समय अभावका कारण महाधिवेशनबाट वञ्चित हुन नपरोस् भनेर अन्तिम पटक पाँच दिनको अवसर दिइएको बताए।
‘यो पाँच दिन अब अन्तिम पटक हो। अझै पनि अद्यावधिक गर्न छुटेका साथीहरूलाई अद्यावधिक गरेर महाधिवेशनमा जोडिने ढोका खोलौँ भन्ने मनशायका साथ यो निर्णय गरेका हौँ,’ पौडेलले भने।
पार्टीका अनुसार सर्वोच्च अदालतको निर्णय पर्खेर बसेका वरिष्ठ नेता, विशेष परिस्थितिका कारण सदस्यता अद्यावधिक गर्न नसकेका तथा अन्योल वा भ्रमका कारण प्रक्रिया पूरा नगरेका कार्यकर्तालाई समेत महाधिवेशनमा सहभागी गराउने उद्देश्यले समय थपिएको हो।
सर्वोच्च अदालतको पूर्ण इजलासले महाधिवेशन रोक्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि महाधिवेशनका लागि कानुनी अड्चन नरहेको कांग्रेसको निष्कर्ष छ।
कांग्रेसले भदौ १९ गतेभित्र अनिवार्य रूपमा क्रियाशील सदस्यता अद्यावधिक गरी एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी हुन सम्पूर्ण नेता–कार्यकर्तालाई अपिल गरेको छ।