माैसम पूर्वानुमान

देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

१ हप्ता अगाडि
देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।

विभागका अनुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

पहाडी भूभागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर साधारणतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस प्रदेशका थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।

रातिको समयमा कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। भारी वर्षाका कारण पहाडी तथा तराई क्षेत्रका केही स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।