श्रम संस्कृति पार्टीको बैठकमा सुदन किराती समूहलाई बोलाइएन, एकता संकटमा

१ हप्ता अगाडि
श्रम संस्कृति पार्टीको बैठकमा सुदन किराती समूहलाई बोलाइएन, एकता संकटमा

काठमाडौं । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीको केन्द्रीय कमिटी बैठक आज धरानस्थित होटल गोर्खामा बस्दैछ। पूर्वमन्त्री सुदन किराती नेतृत्वको समूहसँग पार्टी एकता भएको चार महिनापछि पहिलोपटक बस्न लागेको बैठकमा किराती समूहलाई भने बोलाइएको छैन।

चार महिनाअघि किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृति पार्टीसँग एकता भएको थियो। किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य गरी १८ जना पार्टीमा समावेश भएका थिए। एकताअघि २३ सदस्यीय रहेको केन्द्रीय कमिटी एकतापछि ४१ सदस्यीय बनेको थियो।

एकतापछि पार्टी अध्यक्ष हर्क साम्पाङले सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममार्फत कोशी प्रदेशको मुख्यमन्त्रीमा सुदन किरातीलाई पार्टीको उम्मेदवार बनाउने घोषणा गरेका थिए। किराती निकट नेताहरूका अनुसार त्यसबेला पार्टीभित्र उनको नाम भावी मुख्यमन्त्रीका रूपमा सर्वसम्मतजस्तै बनेको थियो।

तर पछिल्लो समय साम्पाङ र किरातीबीच दूरी बढेको देखिएको छ। विशेषगरी पार्टी अध्यक्ष साम्पाङको सामाजिक सञ्जाल केन्द्रित गतिविधिप्रति किराती असन्तुष्ट रहेको स्रोतको भनाइ छ।

किराती समूहलाई केन्द्रीय समिति बैठकमै नबोलाएपछि दुई पक्षबीचको मनमुटाव सतहमा आएको नेताहरू बताउँछन्। पार्टी एकता नै संकटमा पर्ने अवस्था आएको उनीहरूको दाबी छ।

स्रोतका अनुसार आज बैठक बस्न लागेको जानकारीसमेत किरातीलाई औपचारिक रूपमा दिइएको थिएन। साम्पाङसँग उनको प्रत्यक्ष सम्पर्क नभएको लामो समय भइसकेको बताइएको छ।

किरातीले बैठकमा आफूहरूलाई नबोलाउनुको कारणबारे पार्टीका अन्य नेताहरूसँग जानकारी लिएपछि आजको बैठकमा एकताको निर्णय अनुमोदन गर्ने र त्यसपछि मात्रै एकीकृत बैठक बस्ने जवाफ पाएका थिए। तर, किराती यसमा आश्वस्त नभएको स्रोतको भनाइ छ।

किरातीले आफू निकट नेताहरूसँग भावी रणनीतिबारे छलफलसमेत थालेको बताइएको छ।