भोटेकोशी–त्रिशूली बाढीले १३ जलविद्युत आयोजनामा क्षति, लागत १ खर्ब ४५ अर्बभन्दा बढी

१ हप्ता अगाडि
भोटेकोशी–त्रिशूली बाढीले १३ जलविद्युत आयोजनामा क्षति, लागत १ खर्ब ४५ अर्बभन्दा बढी

काठमाडौं । रसुवाको भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार सञ्चालनमा रहेका ३५४ मेगावाट र निर्माणाधीन ३९४ मेगावाट क्षमताका आयोजना प्रभावित भएका हुन्।

बाढीबाट कुल ७४८ मेगावाट क्षमताका जलविद्युत आयोजनामा क्षति पुगेको छ। कुन आयोजनामा कति क्षति भयो भन्ने यकिन विवरण अझै आइसकेको छैन। केही आयोजना भने पूर्णरूपमा क्षतिग्रस्त भएको प्रारम्भिक आकलन गरिएको छ।

क्षति पुगेका १३ आयोजनाको कुल निर्माण लागत १ खर्ब ४५ अर्ब ४७ करोड रुपैयाँ रहेको छ। कम्पनीहरूको वार्षिक वित्तीय विवरण, रेटिङ कम्पनीका विवरण तथा आयोजना निर्माण सुरु गर्दा गरिएको वित्तीय व्यवस्थापनका आधारमा उक्त लागत निकालिएको हो।

क्षति पुगेका आयोजनामध्ये १४.१ मेगावाटको देवीघाट जलविद्युत आयोजना सन् १९८४ मा ७५ करोड रुपैयाँमा निर्माण भएको थियो। १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको लागत करिब २० अर्ब ६५ करोड रुपैयाँ छ।

त्यस्तै, २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना निर्माणमा २ अर्ब ४७ करोड रुपैयाँ खर्च भएको थियो। ६.४२ मेगावाटको माथिल्लो मैलुङ ‘ए’ आयोजनाको लागत करिब ९५ करोड रुपैयाँ रहेको छ।

२० मेगावाटको परीक्षण चरणमा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको लागत ५ अर्ब १८ करोड रुपैयाँ छ। १२० मेगावाटको निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाको लागत २४ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

त्यस्तै, ३७ मेगावाटको निर्माणाधीन त्रिशूली ‘बी’ जलविद्युत आयोजनाको अनुमानित लागत ६ अर्ब ५७ करोड रुपैयाँ थियो। आयोजनाले आफ्नो वित्तीय विवरणमा कुल लागतको ७० प्रतिशत अर्थात् ४ अर्ब ६० करोड रुपैयाँ नबिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट ऋण लिएको उल्लेख गरेको छ।

२४ मेगावाटको त्रिशूली जलविद्युत आयोजना करिब साढे २२ करोड रुपैयाँमा निर्माण भएको थियो। पछि विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकालमा मर्मतसम्भारलगायतका काममा थप ७५ करोड रुपैयाँ खर्च भएपछि यसको कुल लागत करिब ९५ करोड ५० लाख रुपैयाँ पुगेको छ।

६० मेगावाटको त्रिशूली ‘ए’ जलविद्युत आयोजना निर्माणमा १० करोड ९० लाख अमेरिकी डलर खर्च भएको थियो। तत्कालीन विनिमयदरअनुसार यसको लागत करिब ८ अर्ब १७ करोड ५० लाख रुपैयाँ पर्न जान्छ।

यस्तै, एसियाली विकास बैंकलगायतको ऋण सहयोगमा निर्माण भइरहेको २१६ मेगावाटको माथिल्लो त्रिशूली ‘ए’ आयोजनाको अनुमानित लागत ६४ करोड ७० लाख अमेरिकी डलर रहेको छ। निर्माण अवधिको विनिमयदरअनुसार यसको लागत करिब ७३ अर्ब ११ करोड १० लाख रुपैयाँ हुन्छ।

५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाको लागत ९० करोड रुपैयाँ तथा १५.६ मेगावाटको निर्माणाधीन मिडल त्रिशूली गंगा जलविद्युत आयोजनाको लागत ४२ करोड २० लाख रुपैयाँ रहेको छ। २५ मेगावाटको नुवाकोट सोलार आयोजनाको लागत ४० करोड रुपैयाँ रहेको छ।