काठमाडौं । देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा अहिले मध्यमसम्मको वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गण्डकी प्रदेशका धेरैजसो स्थान तथा बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा पनि मध्यम वर्षा भइरहेको छ। कोशी र कर्णाली प्रदेशका थोरै स्थानमा थप वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैबीच, काठमाडौं उपत्यकामा समेत वर्षाका कारण नदी तथा खोलाको बहाव बढ्ने जोखिम रहेको छ। गएराति काठमाडौंको विष्णुमती नदीमा बाढी आए पनि अहिले भने पानीको बहाव घटेको जनाइएको छ।
यता, लमजुङस्थित मर्स्याङ्दी नदीमा बाढी आएको भन्दै बाढी पूर्वानुमान महाशाखाले नदीको तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
वर्षाका कारण नदी तथा खोलाको जलस्तर बढ्न सक्ने, स्थानीय खोलामा आकस्मिक बाढी आउन सक्ने तथा पहाडी क्षेत्रमा पहिरोको जोखिमसमेत बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
मौसममा आएको परिवर्तनलाई ध्यान दिँदै अत्यावश्यक अवस्थामा बाहेक जोखिमयुक्त नदी किनार, खोला तथा पहिरोको सम्भावना भएका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरिएको छ।