सुदन किराती समूहसहित श्रम संस्कृति पार्टीको संयुक्त बैठक आज

१ हप्ता अगाडि
सुदन किराती समूहसहित श्रम संस्कृति पार्टीको संयुक्त बैठक आज

काठमाडौं । श्रम संस्कृति पार्टीको आज पूर्वमन्त्री सुदन किराती समूहसहितको संयुक्त बैठक बस्दैछ।

अध्यक्ष हर्क साम्पाङको नेतृत्वमा मंगलबार बसेको बैठकले किराती समूहलाई औपचारिक रूपमा पार्टीमा स्वागत गर्ने निर्णय गरेको थियो। त्यससम्बन्धी निर्णयसहितको पत्र मंगलबार नै सुदन समूहलाई पठाइएको छ।

किराती निकट एक नेताका अनुसार स्वागत कार्यक्रमका लागि औपचारिक निम्तो आइसकेको छ। निम्तो पाएपछि किरातीले पनि सकारात्मक प्रतिक्रिया दिँदै सबैलाई बैठकमा उपस्थित हुन निर्देशन दिएका छन्।

किरातीले सामाजिक सञ्जालमार्फत काम गर्ने क्रममा भूल, गल्ती र कमजोरी हुन सक्ने भन्दै त्यसलाई खराब नियतका रूपमा बुझ्न नहुने बताएका छन्।

देश शोक र संकटको घडीमा रहेकाले यस्तो संवेदनशील समयमा सबै जिम्मेवार, संयमित र एकताबद्ध हुनुपर्ने उनको भनाइ छ।

उनले व्यक्ति वा समूहभन्दा देश र संस्था ठूलो हुने भन्दै व्यक्तिगत आग्रह–पूर्वाग्रहभन्दा माथि उठ्न सबैलाई आग्रह गरेका छन्। साथै, बैठकमा सबैको उपस्थितिका लागि अनुरोध गर्दै पार्टीपंक्तिलाई कुनै पनि प्रकारको भ्रममा नपर्न अपिल गरेका छन्।

चार महिनाअघि सुदन किराती वरिष्ठ नेता बन्ने गरी श्रम संस्कृति पार्टीसँग एकता भएको थियो। किराती समूहबाट एक उपाध्यक्ष, एक सचिव र १५ जना केन्द्रीय सदस्य गरी १८ जना पार्टीमा समावेश भएका थिए।

एकताअघि श्रम संस्कृति पार्टीमा २३ जना केन्द्रीय सदस्य थिए। मंगलबार हर्क साम्पाङले किराती समूहलाई अलग राखेर केन्द्रीय कमिटी बैठक बोलाएपछि दुई नेताबीचको सम्बन्धमा चिसोपना आएको चर्चा भएको थियो।