काठमाडौं । देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। कर्णाली प्रदेशलगायत लुम्बिनी र गण्डकी प्रदेशका तराई भूभागमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार गएराति देशका विभिन्न स्थानमा मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको थियो। पछिल्लो १२ घण्टामा सिन्धुपाल्चोकमा ६५.६ मिलिमिटर वर्षा मापन भएको छ।
गएराति रसुवा, पर्वत, स्याङ्जा, कास्की, दोलखा, सङ्खुवासभा र सोलुखुम्बुलगायत जिल्लामा मध्यमदेखि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। तुलनात्मक रूपमा सुदूरपश्चिम, मधेश र कोशी प्रदेशका तराई भूभागमा भने कम वर्षा भएको छ।
महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।
वर्षासँगै केही स्थानमा मेघगर्जन र चट्याङको समेत सम्भावना रहेको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम हुन सक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
विशेषगरी नदी तथा खोलानालाको आसपास, पहिरोको जोखिम भएका सडक तथा बस्ती र कमजोर भूभागमा बसोबास गर्ने नागरिकलाई मौसमको अवस्था बुझेर मात्र यात्रा तथा दैनिक गतिविधि गर्न आग्रह गरिएको छ।
महाशाखाले मौसममा आउने परिवर्तनबारे नियमित सूचना लिन तथा सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।