काठमाडौं । माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि जीवितै उद्धार गरिएका सञ्जय साहका बुबाआमा उनलाई भेट्न काठमाडौं आएका छन्।
छोरा सकुशल उद्धार भएको खबर पाएपछि उनका बुबा, आमा र दाजु हवाईजहाजबाट काठमाडौं आएको तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिएका छन्।
सञ्जय सोही गाउँपालिका–४ का बासिन्दा हुन्।
भोटेकोसी बाढीपछि माथिल्लो त्रिशूली–३ ‘ए’ को सुरुङभित्र फसेका सञ्जय साह र कविर महर्जनलाई शुक्रबार १० दिनपछि नेपाली सेनाको उद्धार टोलीले सकुशल उद्धार गरेको हो।
सञ्जय मेकानिकल फोरम्यान र कविर मेकानिकल सुपरभाइजर हुन्।
नेपाली सेनाका अनुसार भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जलविद्युत् आयोजनाको सुरुङमा फसेकाहरूको संयुक्त खोज तथा उद्धार अभियान जारी छ। दुई जनालाई जीवितै उद्धार गरिए पनि अन्य व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको सेनाले जनाएको छ।