मौसम पूर्वानुमान

केही भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ हप्ता अगाडि
केही भूभागमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेकाले देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका अनुसार आज दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपात हुने अनुमान गरिएको छ।

कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेस प्रदेशसहित वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।

राति पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

यस्तै, तराई भूभागका केही स्थानमा समेत मध्यमसम्म वर्षा हुन सक्ने विभागले जनाएको छ। रातिको समयमा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई विभागले आग्रह गरेको छ।