पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

१ हप्ता अगाडि
पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध, सवारीसाधन बाटोमै रोकिए

बाजुरा । अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खसेपछि बाजुराको साँफे-मार्तडी सडकखण्ड अवरुद्ध भएको छ।

गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका-९ को कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।

यस्तै, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नम्बर ६ को जडांगलगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए।

सडक अवरुद्ध भएको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँचजनाको टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबी प्रयोग गरी पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ।