चार प्रदेशमा वर्षा, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

१ हप्ता अगाडि
चार प्रदेशमा वर्षा, केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं । लुम्बिनी, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा अहिले मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसोपछि देशका धेरैजसो स्थानमा मध्यम तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशका हिमाली भूभागका केही स्थान तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।

यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

मधेश प्रदेशका थोरै स्थानमा समेत वर्षाको सम्भावना रहेको छ। निरन्तर वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो तथा नदी र खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेको छ।