थेराङ खोलाको बाढीले चार घर र पुल बगायो

१ हप्ता अगाडि
थेराङ खोलाको बाढीले चार घर र पुल बगायो

गोरखा । गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका-४ र २ भएर बग्ने थेराङ खोलामा आएको बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगाएको छ।

आइतबार बिहान आएको बाढीले चुमनुब्री-४ का नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

बाढीबाट मानवीय क्षति भने नभएको प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। बाढी आउँदै गरेको थाहा पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भागेकाले मानवीय क्षति हुन नपाएको उनले बताए।

बाढीले सोही स्थानको झोलुङ्गे पुलसमेत बगाएको छ। पुल बगाएपछि मनास्लु पदयात्रामा रहेका पर्यटकलाई आवतजावतमा समस्या हुने भएको छ।

चुमनुब्री गाउँपालिकका अध्यक्ष निमा लामाले तत्कालका लागि पैदल हिँड्न मिल्ने वैकल्पिक व्यवस्था स्थानीयस्तरबाट गर्न सकिने बताए।

खोलाको मुहानतर्फ केही समय पानी थुनिएपछि लेदोसहित आएको बाढीले क्षति पुर्‍याएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बूढीगण्डकीको तटीय क्षेत्रका बासिन्दालाई समेत सतर्क रहन आग्रह गरिएको छ।