काठमाडौं । साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित निकालेको छ।
लगातार तेस्रो जितसँगै नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। तीन खेलबाट ६ अंक जोडेको नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ।
नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्नेछ। यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो।
आइतबार साउदी अरेबियाले दिएको १९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो।
नेपालका लागि गुल्सन झाले ४४ र रोहित पौडेलले २४ रनमा अविजित रहे। गुल्सनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने रोहितले ३७ बलमा २ चौका हाने।
ईशान पाण्डेले ५९ बलमा २ चौकासहित ४० रन तथा देव खनालले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रन बनाए।
ओपनर अर्जुन कुमालले १५ र आशिफ शेखले २० रन बनाए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबियाले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको थियो।
साउदीका ओपनर अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। मुहम्मद आतिफले ३० तथा मोहम्मद हिसाम शेखले २८ रन जोडे।
नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले १० ओभरमा २ मेडन राख्दै १९ रन खर्चिए। दीपेन्द्र सिंह ऐरीले ९.२ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए।
ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए।