मौसम पूर्वानुमान

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

१ हप्ता अगाडि
केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार रातिको तुलनामा दिउँसो धेरै स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थान तथा पहाडी क्षेत्रका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थान, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थान तथा मधेस र कोसी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुनसक्ने विभागको पूर्वानुमान छ।

राति पनि वर्षाको सम्भावना

राति देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना छ।

यस्तै, देशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा तराई भूभागका केही स्थानमा समेत मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहेको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।