भोटेकोशी बाढीको असर पर्यटनमा, सौराहाका होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी

१ हप्ता अगाडि
भोटेकोशी बाढीको असर पर्यटनमा, सौराहाका होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी

काठमाडौँ । दुई साताअघि भोटेकोशीमा आएको बाढीको असर मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा पनि पर्न थालेको छ ।

चाडपर्व सुरु भइसकेकाले धेरैजसो होटलमा पर्यटकले बुकिङ र जमघटका कार्यक्रम तय गरेका थिए । धेरै होटलले तीज लक्षित अफरसमेत ल्याएका थिए । तर, प्रकोपका कारण नेपाल सुरक्षित नरहेको खबर फैलिएपछि आन्तरिक र बाह्य पर्यटकले पोखरा, चितवन र लुम्बिनीका होटलमा बुकिङ रद्द गरेका छन् ।

बाटोघाटो सहज नभएकाले आन्तरिक पर्यटकले पनि घुम्ने योजना स्थगित गरेका छन् । जसले पर्यटकीय याममै होटलहरू सुनसान बनेका छन् ।

चितवनको सौराहा यतिबेला पर्यटकले भरिभराउ हुने समय हो । तर, यस पटक सौराहामा छिटफुट पर्यटक मात्रै देखिएका छन् । अहिले होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी रहेको क्षेत्रीय होटल संघले जनाएको छ ।

‘अहिले पर्यटक नै छैनन्,’ क्षेत्रीय होटल संघ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले भने, ‘यहाँका होटलमा ५ प्रतिशतभन्दा कम अकुपेन्सी छ ।’

घिमिरेको जंगल सफारी लजमा ३४ कोठा छन् । तर, बुकिङ रद्द भएपछि अहिले अधिकांश कोठा खाली रहेको उनले बताए ।

कृष्णभीर बाढीले भासिएपछि स्थलमार्गबाट पर्यटक चितवन आएका छैनन् । भोटेकोशी बाढीले चितवनमा क्षति नपुर्‍याए पनि ट्राभल एडभाइजरीमा नेपालबारे नराम्रा खबर फैलिएकाले समस्या आएको घिमिरेको भनाइ छ ।

‘पूर्व–पश्चिम राजमार्गमा समस्या छैन,’ उनले भने, ‘नेपालको अवस्था भयावह भनेर अन्तर्राष्ट्रियस्तरमा खबर फैलिएकाले पर्यटन क्षेत्र मारमा परेको छ ।’