काठमाडौं । देशका केही स्थानमा आज धेरै भारी वर्षाको सम्भावना रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ, नेपालको पश्चिमी भूभाग नजिक रहेको तथा उत्तर प्रदेश आसपास विकसित न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले वर्षा बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने सम्भावना छ। वर्षाका कारण ती क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
आज देशभर सामान्यतया बदली रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, देशका पहाडी भूभागका धेरै स्थानमा मध्यमसम्म वर्षा वा हिमपात हुने सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै स्थानमा तथा मधेससहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागका अनुसार कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
लगातार तथा भारी वर्षा हुने स्थानमा बाढी, पहिरो तथा सडक आवागमनमा अवरोध हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बन्धित सबैलाई विभागले आग्रह गरेको छ।