ओमानमाथि नेपालको ८७ रनको शानदार जित, एसिया कपको सम्भावना कायमै

४ दिन अगाडि
ओमानमाथि नेपालको ८७ रनको शानदार जित, एसिया कपको सम्भावना कायमै

काठमाडौं । स्पिन बलर चम्किएपछि मलेसियामा जारी एसीसी प्रिमियर कपअन्तर्गत सेमिफाइनलमा नेपालले ओमानमाथि शानदार जित हासिल गरेको छ।

नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। नेपालले दिएको १ सय ४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो।

ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रन बनाए। जितेन रामानन्दीले १३ रन जोड्दा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३–३ विकेट लिए। रोहित पौडेल र ललित राजवंशीले २–२ विकेट लिएपछि ओमानको ब्याटिङ धराशायी भएको थियो।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रनको योगदान दिए। नेपाल २३ रनमा पहिलो विकेट गुमाएर ३६–४ को संकटपूर्ण अवस्थामा पुगेपछि दीपेन्द्र र बसिरले ९३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए।

देव खनालले १३ तथा आसिफ शेखले ११ रन बनाए। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। ३६–४ को अवस्थाबाट नेपाल १२९–५ सम्म पुगे पनि अन्ततः १४७ रनमै अलआउट भएको थियो।

ओमानका लागि जय ओडेडराले १० ओभरमा २६ रन खर्चेर ३ विकेट लिए। हस्नैन शाहले ८.४ ओभरमा २८ रन दिएर ३ विकेट लिए। मुहम्मद इमरानले २ तथा शकील अहमद र मुजिबुर अलीले समान १–१ विकेट लिए।

सेमिफाइनल जितसँगै नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ।

अब नेपालले उपाधिका लागि यूएईसँग खेल्नेछ। फाइनल खेल शनिबार हुनेछ। फाइनलमा यूएईलाई पराजित गर्न सके नेपाल एसिया कपमा समेत छनोट हुनेछ।