बुटवल । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राष्ट्रिय जनमोर्चाले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ। जनमोर्चा यस निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गर्ने पहिलो राजनीतिक दल बनेको छ।
बुटवलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष चित्रबहादुर केसी, कार्यवाहक अध्यक्ष रश्मीराज नेपाली, उपाध्यक्ष दुर्गा पौडेल, जनकराज शर्मा तथा महासचिव मनोज भट्टले संयुक्त रूपमा घोषणा पत्र सार्वजनिक गरेका थिए।
अध्यक्ष केसीले विगतका चुनावमा भएका कमजोरीबाट पाठ सिक्दै यसपटक सचेत निर्णय गर्न जनतालाई आग्रह गरे। हल्ला, प्रचार र व्यक्तिवादी नाराको भरमा भ्रष्ट तथा जनविरोधी शक्तिलाई जिताउँदा देशले ठूलो मूल्य चुकाउनु परेको उनको भनाइ थियो।
महासचिव भट्टका अनुसार घोषणा पत्रमा विकास निर्माण, सुशासन, आर्थिक सुधार, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायका स्पष्ट योजना समेटिएका छन्।