मौसम पूर्वानुमान

पहाडी र हिमाली क्षेत्रमा वर्षा, बाढी–पहिरोको जोखिम

एक दिन अगाडि
पहाडी र हिमाली क्षेत्रमा वर्षा, बाढी–पहिरोको जोखिम

काठमाण्डौ । देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै १८.२ मिलिमिटर वर्षा मापन भएको छ।

महाशाखाका अनुसार गएराति देशका धेरैजसो पहाडी तथा हिमाली क्षेत्रमा मध्यम वर्षा भएको थियो भने केही स्थानमा ठूलो वर्षासमेत भएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर र इलामलगायतका क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भएको जनाइएको छ।

आज कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा ठूलो वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

ठूलो वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले वर्षाका कारण नदी तथा खोलानालामा पानीको बहाव बढ्न सक्ने र पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको जोखिम हुन सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्क रहन तथा आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।

वर्षाको समयमा जोखिमयुक्त सडक तथा नदी–खोला आसपास अनावश्यक यात्रा नगर्न र मौसमसम्बन्धी सूचना तथा पूर्वानुमानमा ध्यान दिनसमेत महाशाखाले आग्रह गरेको छ।