कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व संकलन

एक दिन अगाडि
कोरलानाकाबाट १५ दिनमै पौने दुई अर्ब राजस्व संकलन

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित लोमान्थाङ-४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले पछिल्लो १५ दिनमा रु एक अर्ब ७८ करोड ४४ लाख राजस्व संकलन गरेको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि चीनबाट नेपाल भित्रिने मालवस्तुको पैठारी कोरलानाकातर्फ बढेको हो। तातोपानी नाका समेत बन्द रहेकाले कोरलानाकाबाट चिनियाँ मालवस्तु तथा विद्युतीय सवारीसाधनको आयात उल्लेख्य रूपमा बढेको भन्सार कार्यालयले जनाएको छ।

मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि कोरलानाकाबाट चिनियाँ मालवस्तुको पैठारी बढ्दो क्रममा छ।

शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले रु २७ करोड ११ लाख राजस्व संकलन गरेको छ। भदौ २२ गतेपछि दैनिक औसतमा करिब रु ३० करोड राजस्व संकलन हुँदै आएको प्रमुख चुडालले जानकारी दिए।

उनका अनुसार शुक्रबार मात्रै ७१ कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधन (ईभी) को भन्सार जाँचपास भएको छ। जाँचपासपछि ती सवारीसाधन तथा मालवस्तु गन्तव्यतर्फ पठाइएको हो।

रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका ४३४ कन्टेनर र ६४१ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँचपास गरिएको प्रमुख चुडालले बताए।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरलानाका हुँदै नेपाल भित्रिएका कन्टेनर तथा विद्युतीय सवारीसाधनको भन्सार जाँचपासबाट कुल रु दुई अर्ब ३१ करोड ४४ लाख राजस्व संकलन भइसकेको छ।

भन्सार कार्यालयका अनुसार भदौ ९ गतेसम्म कोरलानाका हुँदै १३३ कन्टेनर र १६३ वटा विद्युतीय सवारीसाधन नेपाल भित्रिएका थिए। त्यसपछि अन्य प्रमुख उत्तरी नाकाहरू बन्द भएपछि कोरलानाकामा आयातको चाप थप बढेको हो ।

वैकल्पिक नाकाका रूपमा कोरला

उपल्लो मुस्ताङका नागरिकका लागि बाह्रै महिना खुला रहने कोरलानाका यसअघि मुख्यतः स्थानीय आवतजावतका लागि प्रयोग हुँदै आएको थियो। तर तातोपानी र रसुवागढी नाका बाढीपहिरो तथा नदी कटानका कारण सडक अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरलानाकालाई वैकल्पिक निकासी तथा पैठारी नाकाका रूपमा खुला गरेको थियो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा उत्तरी कोरलानाकाबाट भएको निकासी तथा पैठारीबाट रु छ अर्ब ९२ करोड राजस्व संकलन भएको थियो।

सो अवधिमा पैठारीतर्फ रु १४ अर्ब ४१ करोड र निकासीतर्फ रु २० करोड ५० लाख बराबरको मालवस्तुको कारोबार भएको थियो।

गत आर्थिक वर्षमा कोरलानाका हुँदै तीन हजार २२३ वटा विद्युतीय सवारीसाधन र एक हजार ८७३ वटा कन्टेनरको भन्सार जाँचपास गरिएको थियो।

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द रहेसम्म कोरलानाका हुँदै हुने आयात अझै बढ्न सक्ने देखिएको छ। यसले मुस्ताङ भन्सारको राजस्व संकलनमा समेत उल्लेख्य वृद्धि हुने संकेत गरेको छ।