काठमाडौं । २४० जना यात्रु बोकेको एउटा यात्रुवाहक जहाज आइतबार इन्डोनेसियामा सम्पर्कविहीन भएको छ।
सीएनएनका अनुसार पूर्वी जाभाको सुराबायाबाट बोर्नियो टापुको दक्षिण कालीमन्तन प्रान्तको राजधानी बन्जारमासिनतर्फ जाँदै गरेको ‘भर्जो ट्रान्सपोर्ट ८’ नामको जहाज जाभा सागरमा सम्पर्कविहीन भएको हो।
बन्जारमासिनस्थित खोज तथा उद्धार कार्यालयका अनुसार यात्राका क्रममा जहाजको सञ्चार प्रणाली अवरुद्ध भएपछि त्यससँग सम्पर्क हुन सकेको छैन। उद्धार अधिकारीहरूले जहाजको खोजी अभियान सुरु गरेका छन्।
अधिकारीहरूका अनुसार जहाजको अन्तिम स्थान जाभा सागरमा बन्जारमासिनको घाटबाट करिब १४८ किलोमिटर टाढा रहेको संकेत प्राप्त भएको छ।
इन्डोनेसियाले यसअघि पनि यात्रुवाहक जहाज तथा डुंगा दुर्घटनाका ठूला घटना व्यहोरेको छ। सन् १९८१ मा ट्याम्पोमास–२ यात्रुवाहक जहाज जाभा सागरमा डुब्दा ४३० जनाको मृत्यु भएको थियो।
सन् २००६ मा सेनोपति नुसान्तारा यात्रुवाहक डुंगा खराब मौसमका कारण जाभा सागरमा डुब्दा ४०० भन्दा बढी मानिसको मृत्यु वा बेपत्ता भएका थिए। सन् २००७ मा लेभिना–१ फेरीमा आगलागी हुँदा ५० भन्दा बढी मानिसको मृत्यु भएको थियो। त्यस्तै, सन् २०१८ मा लेस्टारी माजु फेरी दक्षिण सुलावेसीमा डुब्दा ३६ जनाको मृत्यु भएको थियो।