रुकुम पश्चिममा जीप दुर्घटना, दुईजनाको मृत्यु

एक दिन अगाडि
रुकुम पश्चिममा जीप दुर्घटना, दुईजनाको मृत्यु

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ स्थित देउता खोलामा आइतबार बिहान जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने नौजना घाइते भएका छन्।

वडा नम्बर ६ को कोटगाउँबाट गाउँपालिकाको केन्द्र सानीभेरी-९ सिम्ली हुँदै खलंगातर्फ आउँदै गरेको लु १ च ६०२९ नम्बरको जीप दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा जीप चालक र एक महिलाको घटनास्थलमै मृत्यु भएको छ। मृतक दुवैजनाको सनाखत हुन बाँकी रहेको उनले बताए।

जीपमा ११ जना सवार रहेको र दुर्घटनामा चारजना गम्भीर घाइते भएको प्रहरीको भनाइ छ। अन्य पाँचजना घाइतेको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए।

घटनालगत्तै प्रहरी टोली घटनास्थल पुगेको छ भने घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर माग गरिएको सानीभेरी गाउँपालिकाका अध्यक्ष विर्खबहादुर विष्टले जानकारी दिए।