जोन्सन सवार रेल छुटेको केहीबेरमै रुसी ड्रोन आक्रमण

१६ घण्टा अगाडि
जोन्सन सवार रेल छुटेको केहीबेरमै रुसी ड्रोन आक्रमण

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र युरोपेली उच्च सुरक्षा अधिकारीहरू सवार कूटनीतिक रेल छुटेको केही समयपछि युक्रेन-पोल्यान्ड सीमास्थित याहोदिननजिकै अर्को युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको छ।

आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि मानवीय क्षति भने भएन। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनुभन्दा करिब १५ मिनेटअघि नै यात्रुलाई रेलबाट सुरक्षित रूपमा बाहिर निकालिएको थियो।

जोन्सन, बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत अधिकारीहरू किभमा आयोजित सम्मेलनबाट फर्कँदै थिए। रुसी आक्रमणको जोखिमका कारण उनीहरू सवार कूटनीतिक रेल निर्धारित समयभन्दा अघि नै छुटेको युक्रेनी सरकारी रेलवे कम्पनी उक्रजालिज्निचियाले जनाएको छ।

रुसले पश्चिमी युक्रेनको रेलवे पूर्वाधारलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। तर, युक्रेनी रेलवे कम्पनीले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल हुन सक्ने आशंका गरेको छ। आक्रमण पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा भएको बताइएको छ।

आक्रमणका बेला सीआईएका पूर्वप्रमुख डेभिड पेट्रायस पनि याहोदिन स्टेसनमा रहेको अर्को रेलमा सवार थिए। किभ सम्मेलनमा सहभागी स्विडेनका पूर्वप्रधानमन्त्री कार्ल बिल्ड्ट सवार रेल पनि केही समय रोकिएको थियो।

जोन्सनले घटनापछि युक्रेनलाई तत्काल थप वायु रक्षा प्रणाली उपलब्ध गराउन सहयोगी राष्ट्रहरूसँग आग्रह गरेका छन्। युक्रेनले ब्यालिस्टिक क्षेप्यास्त्र र जेट–सञ्चालित ड्रोनविरुद्ध थप ‘इन्टरसेप्टर’ उपलब्ध गराउन विशेषगरी अमेरिकासँग आग्रह गर्दै आएको छ।