डडेलधुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ सुदूरपश्चिम प्रदेश केन्द्रित पार्टी संगठन विस्तार तथा जनसम्पर्कका लागि भ्रमणमा निस्किएका छन् ।
बुधबार बिहान डडेलधुराको तुफानडाँडास्थित पार्टी कार्यालय पुगेका शाहले स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूसँग भेटघाट गर्दै समसामयिक राजनीतिक अवस्था र आगामी निर्वाचनको तयारीबारे छलफल गरेका थिए ।
त्यसपछि उनी बैतडी हुँदै दार्चुला पुगेका थिए । दार्चुला जाने क्रममा मोटरसाइकलमा यात्रा गरिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि व्यापक चर्चा भएको थियो । भ्रमणलाई निरन्तरता दिँदै शाह दार्चुलाबाट बझाङको बुंगल पुगेका छन् ।
भ्रमणका क्रममा स्थानीय जनताको समस्या, अपेक्षा र विकासका आवश्यकता बुझ्ने तथा पार्टी संगठन सुदृढ गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ ।