काठमाडौं । सरकारले ल्याएको पुँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले लगानीकर्तालाई उत्साहित बनाएपछि मंगलबार सेयर बजारमा उल्लेख्य वृद्धि भएको छ।
अर्थ मन्त्रालयले सोमबार सार्वजनिक गरेको कार्ययोजनामा प्राथमिक सेयर निष्कासनमा सहजीकरण, गैरआवासीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने, नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना अघि बढाउने र लाभकर घटाउनेलगायत व्यवस्था समेटिएको छ।
यसको सकारात्मक प्रभाव बजारमा देखिँदा मंगलबार ८ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। यो दुई महिनायताकै उच्च कारोबार हो। यसअघि असार ३० गते ८ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको थियो।
मंगलबार नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ विन्दुमा पुगेको छ। कारोबार भएको सेयर कित्ता पनि दोब्बरभन्दा बढी भएको छ। यस दिन २ करोडभन्दा बढी कित्ता सेयर किनबेच भएको छ।
मंगलबार २६५ कम्पनीको सेयर मूल्य बढ्दा १२ कम्पनीको मात्रै घटेको छ। एउटा कम्पनीको मूल्य अघिल्लो दिनकै विन्दुमा कायम रह्यो। धौलागिरि लघुवित्तको सेयर मूल्य १४.९६ प्रतिशत र सिन्धु विकास बैंकको ११.०३ प्रतिशत बढेको छ। अन्य बढ्ने कम्पनीको मूल्य अधिकतम ९.७३ प्रतिशतसम्म बढेको छ।
घट्नेमा सबैभन्दा बढी ५.५५ प्रतिशतको गिरावट आएको छ। कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्सको ३२ करोड, शिवम् सिमेन्टको ३१ करोड र अपि पावरको २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार बजारका सबै समूहको सूचक बढेको छ।