कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार

९ घण्टा अगाडि
कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ४० हजार

काठमाडौं । नेपाली कांग्रेसको सभापतिको उम्मेदवार बन्न ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्ने भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले मंगलबार "नेपाली कांग्रेस निर्वाचन निर्देशिका, २०८३" जारी गर्दै वडा सदस्यदेखि केन्द्रीय कार्यसमितिको सभापतिसम्मका उम्मेदवारका लागि आवश्यक मापदण्ड र शुल्क निर्धारण गरेको हो।

केन्द्रीय निर्वाचन समितिले प्रस्तुत गरेको निर्देशिका सभापति गगन थापाको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरिसकेको छ।

निर्देशिकाअनुसार कांग्रेस सभापतिमा उम्मेदवारी दिन महाधिवेशन प्रतिनिधिमध्येबाट १० जना प्रस्तावक र १० जना समर्थक आवश्यक पर्नेछ। उम्मेदवारी दर्ताका क्रममा ४० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ।

केन्द्रीय उपसभापति र महामन्त्रीका लागि सात जना प्रस्तावक र सात जना समर्थक, सहमहामन्त्रीका लागि पाँच जना प्रस्तावक र पाँच जना समर्थक तथा केन्द्रीय सदस्यका लागि तीन जना प्रस्तावक र तीन जना समर्थक आवश्यक पर्ने व्यवस्था गरिएको छ।

उपसभापति र महामन्त्रीका लागि ३० हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि ११ हजार रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।

प्रदेश सभापतिका लागि २० हजार, उपसभापति र महामन्त्रीका लागि १५ हजार, सहमहामन्त्रीका लागि १० हजार र प्रदेश सदस्यका लागि ५ हजार रुपैयाँ शुल्क तोकिएको छ।

त्यस्तै, वडा सभापतिका लागि १ हजार, वडा उपसभापति, सचिव र सहसचिवका लागि ७ सय तथा वडा सदस्य र क्षेत्रीय प्रतिनिधिका लागि ५ सय रुपैयाँ उम्मेदवारी शुल्क तोकिएको छ।