गत आर्थिक वर्ष घरजग्गा कारोबार ७ खर्ब २० अर्ब, कारोबार रकम दोब्बर

९ घण्टा अगाडि
गत आर्थिक वर्ष घरजग्गा कारोबार ७ खर्ब २० अर्ब, कारोबार रकम दोब्बर

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा घरजग्गा कारोबार रकम करिब दोब्बर बढेर ७ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ३ खर्ब ८६ अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको थियो। त्यसको तुलनामा गत आर्थिक वर्ष कारोबार रकम उल्लेख्य बढेको हो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्रै २ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको घरजग्गा कारोबार भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ खर्ब २७ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।k

गत आर्थिक वर्ष घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कारोबार संख्या १.८४ प्रतिशतले घटेको थियो।

गत आर्थिक वर्षको चौथो त्रैमासमा घरजग्गाको कुल कारोबार संख्या १२.२५ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कारोबार १४.६५ प्रतिशतले बढेको थियो।

लिखत पारितअन्तर्गतको कारोबार संख्या गत आर्थिक वर्षमा १२.२८ प्रतिशतले बढेको छ। त्यस्तै, लिखत पारितअन्तर्गतको राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा राजीनामा कारोबार ८.१५ प्रतिशतले बढेको थियो।

गत आर्थिक वर्ष कारोबार भएको घरजग्गाको कुल क्षेत्रफल १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

घरजग्गा कारोबारबाट संकलन भएको राजस्व गत आर्थिक वर्ष ४८.२६ प्रतिशतले बढेको छ। त्यस्तै, पुँजीगत लाभकर ६३.२२ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्ष घरजग्गा क्षेत्रमा प्रवाह भएको बैंक कर्जा पनि ६.९३ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो कर्जा ५.८६ प्रतिशतले बढेको थियो।