बाढीपीडितको उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर : सांसद बोहरा

८ घण्टा अगाडि
बाढीपीडितको उद्धार र राहतमा सरकारको उपस्थिति कमजोर : सांसद बोहरा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपक बोहराले बाढीका कारण बेपत्ता भएका नागरिकको खोजी तथा बाढी प्रभावितलाई राहत उपलब्ध गराउने कार्यमा सरकारको उपस्थिति कमजोर देखिएको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै बोहराले सरकारी तथ्याङ्कअनुसार रसुवामा अझै ५ हजार १३० जना बेपत्ता रहेको बताए। उनले आफ्नो जिल्ला कञ्चनपुरमा २६ जना र आफ्नो निर्वाचन क्षेत्र कञ्चनपुर-२ मा १४ जना बेपत्ता रहेको जानकारी दिए।

पछिल्ला केही दिन निर्वाचन क्षेत्रमा रहेर बाढी प्रभावित नागरिकको घरघरमा पुगेको उल्लेख गर्दै उनले प्रहरी र नेपाली सेनाका कर्मचारीको हकमा सम्बन्धित संगठनले परिवारको जिम्मेवारी लिने आश्वासन दिए पनि सर्वसाधारणका लागि सरकारको उपस्थिति कमजोर रहेको बताए।

उनले प्रशासनले पालिका तथा नगरप्रमुख पुगेको बताउने र पालिका तथा नगरप्रमुखले सरकार आउने बताउने अवस्था रहेको भन्दै प्रभावित क्षेत्रमा वास्तविक रूपमा कोही नपुगेको गुनासो गरे।

बोहराले शुक्लाफाँटा–३ जोनापुरकी सुनिता डगौराको उदाहरण दिँदै उनी दुवै मिर्गौला फेल भएर उपचाररत रहेको र उनका छोरा अभिषेक डगौरा लाङटाङ जलविद्युत् आयोजनामा बेपत्ता रहेको बताए। औषधि किन्ने र बिहान–बेलुका खानेकुराको समेत समस्या रहेको भन्दै उनले यो एउटा प्रतिनिधि घटना मात्रै भएको बताए।

बाढी प्रभावित सबैको अवस्था यस्तै रहेको भन्दै बोहराले सरकारले के गर्छ र प्रभावित नागरिक कहाँ जाने भन्ने विषय अझै स्पष्ट हुन नसकेको बताए।