काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर सामान्यतया बादल लाग्नेछ भने केही स्थानमा मध्यमदेखि भारी वर्षा हुनसक्नेछ।
विभागका अनुसार कोसी र वाग्मती प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।
त्यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने विभागले जनाएको छ।
मधेस प्रदेशसहित कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।
आज कोसी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभागका साथै वाग्मती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
भारी वर्षाका कारण स्थानीय जनजीवन, सडक तथा यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
राति देशभर सामान्यतया बादल लाग्नेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम वर्षा तथा हिमपात हुनसक्ने विभागले जनाएको छ।
यस्तै, कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
मधेस प्रदेश तथा कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्नेछ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थानको आसपास तथा पश्चिमी क्षेत्रमा सरदर स्थानभन्दा दक्षिणतर्फ रहेको छ।
वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न सक्ने भएकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्क रहन विभागले सुझाव दिएको छ।