दल त्याग गरेका दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

एक घण्टा अगाडि
दल त्याग गरेका दुई उपाध्यक्षसहित १० जनप्रतिनिधिको पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले दल त्याग गरी अन्य दलमा प्रवेश गरेका दुई उपाध्यक्षसहित १० जना जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ।

आयोगका अनुसार २०७९ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) लगायतका दलबाट निर्वाचित भएर पछि अन्य दलमा प्रवेश गरेका जनप्रतिनिधिको विवरण सम्बन्धित राजनीतिक दलको केन्द्रीय समितिको निर्णयसहित आयोगमा प्राप्त भएको थियो।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम दल त्याग गरेको देखिएकाले उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको आयोगले जनाएको छ।

आयोगका अनुसार मधेश प्रदेशका चार, कोशी प्रदेशका तीन, बागमती प्रदेशका दुई र सुदूरपश्चिम प्रदेशका एक जना जनप्रतिनिधिको पद रिक्त भएको हो।

मधेश प्रदेशमा धनुषाको शहीदनगर नगरपालिका–५ का वडाध्यक्ष तनुकलाल कुसियैत, विदेह नगरपालिका–६ का वडाध्यक्ष जयराम मण्डल, कमला नगरपालिका–५ का वडाध्यक्ष शीबा पासमान र मिथिला नगरपालिका–२ का वडाध्यक्ष बिहारी महतो कोइरीको पद रिक्त भएको छ।

कोशी प्रदेशमा खोटाङको केपिलासगढी गाउँपालिका–३ का वडाध्यक्ष तुलाराम राई, बराहपोखरी गाउँपालिकाका उपाध्यक्ष भुवलराज राई र मोरङको धनपालथान गाउँपालिका–५ का वडाध्यक्ष गयानन्द सरदारको पद रिक्त भएको छ।

बागमती प्रदेशमा दोलखाको जिरी नगरपालिका–६ का वडाध्यक्ष मर्जितबहादुर खड्का र जिरी नगरपालिका–३ का वडाध्यक्ष खेटराज घिमिरेको पद रिक्त भएको छ।

सुदूरपश्चिम प्रदेशको कैलालीस्थित बर्दगोरिया गाउँपालिकाका उपाध्यक्ष गणेशराज गिरीको पद पनि दल त्यागका कारण रिक्त भएको आयोगले जनाएको छ।

आयोगले राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरेको हो।