काठमाडौं । बाढीका कारण अवरुद्ध पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरमा ट्रयाक खोल्ने काम सम्पन्न भएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार ट्रयाक खोल्ने काम सकिएसँगै भोलिदेखि उक्त सडकखण्डमा पूर्णरूपमा सवारीसाधन सञ्चालन गरिनेछ।
आइतबार भित्तातर्फको कटिङ तथा सडक सम्याउने काम सकेर केही सवारीसाधन परीक्षणका रूपमा सञ्चालन गरिएको थियो। परीक्षण सफल भएपछि नियमित सवारीसाधन सञ्चालनका लागि काम तीव्र पारिएको हो।
करिब ३०० मिटर लामो नयाँ ट्रयाकमा ७ मिटर चौडाइको सडक र नालीसहित करिब साढे ७ मिटरको संरचना निर्माण गरिएको छ।
ट्रयाक खोल्ने कामको पहिलो चरणमा ९ देखि १० दिनसम्म ११–१२ वटा उपकरण परिचालन गरिएको थियो। त्यस क्रममा करिब ४०–५० जना दक्ष तथा अदक्ष मजदुर खटिएका थिए।
ग्रेडर, रोलर र एक्साभेटरसहित ५–६ वटा ठूला उपकरण प्रयोग गरेर ट्रयाक खोल्ने काम गरिएको थियो।