चीन र बेलायतबीच विशेष सम्झौता

२ महिना अगाडि
चीन र बेलायतबीच विशेष सम्झौता

काठमाडौं । चीनले बेलायती नागरिकलाई अब ३० दिनसम्म भिसा नलिई चीन यात्रा गर्न अनुमति दिने भएको छ। बेलायतका प्रधानमन्त्री सर कियर स्टारमर र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बेइजिङमा भएको भेटवार्तापछि डाउनिङ स्ट्रिटले यो जानकारी दिएको हो।

आठ वर्षपछि चीन भ्रमण गर्ने पहिलो बेलायती प्रधानमन्त्री बनेका स्टारमरको यस भ्रमणलाई बेलायत–चीन सम्बन्धमा नयाँ अध्यायको सुरुआतका रूपमा हेरिएको छ। भ्रमणकै क्रममा बेलायती ह्विस्कीमाथि चीनले लगाउँदै आएको आयात कर १० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झार्ने सहमति समेत भएको छ।

सरकारले यो कदमले चीनसँगको व्यापार विस्तार भई बेलायती अर्थतन्त्रको वृद्धिमा टेवा पुग्ने विश्वास लिएको छ। यद्यपि, विपक्षी दल र आलोचकहरूले भने राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम र मानवअधिकारको अवस्थालाई ध्यानमा राख्दै चीनसँगको सम्बन्धमा सतर्कता अपनाउनुपर्ने बताएका छन्।

भिसा छुट कहिलेदेखि लागू हुन्छ ?

भिसा छुट कहिलेदेखि लागू हुन्छ भन्ने निश्चित मिति तय भइसकेको छैन। तर बेलायती सरकारले सकेसम्म छिटो कार्यान्वयनमा ल्याउने अपेक्षा गरेको छ। सन् २०२४ मा मात्रै करिब ६ लाख २० हजार बेलायती नागरिकले चीन भ्रमण गरेको तथ्याङ्क राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ।

डाउनिङ स्ट्रिटका अनुसार यो निर्णयसँगै बेलायत फ्रान्स, जर्मनी, इटाली, अष्ट्रेलिया र जापानसहित ५० भन्दा बढी देशको सूचीमा समावेश भएको छ, जसका नागरिकले छोटो अवधिका लागि भिसा नचाहिने सुविधा पाउँछन्।

प्रधानमन्त्री स्टारमरले यसले बेलायती व्यवसायीलाई चीनमा आफ्नो उपस्थिति विस्तार गर्न सहज बनाउने बताएका छन्।
उनले भने, “चीन विश्वकै ठूला आर्थिक शक्तिमध्ये एक हो। यहाँ अवसर धेरै छन्। छोटो अवधिको यात्रामा भिसा सहज हुँदा व्यवसाय विस्तार मात्र होइन, बेलायतमै रोजगारी र आर्थिक वृद्धि पनि हुनेछ।”

सेवा व्यापार र लगानीमा सहकार्य

भेटवार्तामा बेलायत र चीनबीच सेवा क्षेत्रसम्बन्धी सम्झौता वार्ताको सम्भावना पनि खोज्ने सहमति भएको छ। यसले वित्त, स्वास्थ्य, कानुनी सेवा जस्ता क्षेत्रमा बेलायती कम्पनीलाई चिनियाँ बजारमा स्पष्ट र कानुनी आधार प्रदान गर्ने डाउनिङ स्ट्रिटले जनाएको छ।

यसैबीच, औषधि कम्पनी एस्ट्राजेनेकाले सन् २०३० सम्म चीनमा १५ अर्ब अमेरिकी डलर ९करिब १०।९ अर्ब पाउन्ड० लगानी गर्ने घोषणा गरेको छ। उक्त लगानीमार्फत नयाँ उत्पादन केन्द्र स्थापना र जनशक्ति विस्तार गरिनेछ।

आप्रवासन र सुरक्षा सहकार्य

प्रधानमन्त्री स्टारमर र राष्ट्रपति सीबीच अवैध आप्रवासन नियन्त्रणमा पनि छलफल भएको छ। बिहीबार हस्ताक्षर भएको सम्झौताअनुसार बेलायत र चीनका सुरक्षासम्बन्धी निकायले मानव तस्करीमा प्रयोग हुने साना डुङ्गाका इन्जिन तथा उपकरण आपूर्ति रोक्न सहकार्य गर्नेछन्।

गत वर्ष आप्रवासी तस्करीमा प्रयोग भएका ६० प्रतिशतभन्दा बढी इन्जिन चिनियाँ उत्पादन भएको पाइएको थियो।

मानवअधिकारका विषय पनि उठाइयो

प्रधानमन्त्री स्टारमरले भेटवार्तामा हङकङका प्रजातन्त्र समर्थक अभियन्ता जिमी लाइको कारावास र शिन्जियाङमा उइगर अल्पसंख्यकमाथि भइरहेको व्यवहारजस्ता संवेदनशील विषय पनि उठाएको बताए।

“सम्बन्ध सुदृढ बनाउनुको अर्थ असहमति नभन्नु होइन,” उनले भने, “हामी अवसर उपयोग गर्छौँ, तर असहमतिको विषयमा परिपक्व संवाद पनि गर्छौँ।”

विपक्षीको आलोचना

बेलायती विपक्षी कन्जरभेटिभ पार्टीले भने प्रधानमन्त्रीको चीन भ्रमणको आलोचना गरेको छ। छायाँ गृहसचिव क्रिस फिल्पले प्रधानमन्त्रीले आर्थिक फाइदाको नाममा राष्ट्रिय सुरक्षा सम्झौता गरेको आरोप लगाए।

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले बेलायत–चीन सम्बन्धमा विगतमा उतारचढाव आएको स्वीकार गर्दै वर्तमान विश्व परिस्थितिमा संवाद अपरिहार्य भएको बताएका छन्।

भेटपछि प्रधानमन्त्री स्टारमरले राष्ट्रपति सीलाई म्यानचेस्टर युनाइटेड र आर्सनलबीचको प्रिमियर लिग खेलमा प्रयोग भएको फुटबल उपहार दिएका थिए। जवाफमा राष्ट्रपति सीले घोडाको तामाको मूर्ति उपहार दिएका छन्।