काठमाडौं । पछिल्लो समय लगातार नयाँ कीर्तिमान बनाउँदै आएको सुनचाँदीको मूल्यमा आज एकैदिन व्यापक गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले घटेको हो ।
गिरावटपछि आज सुनको मूल्य प्रतितोला ३ लाख १८ हजार ८ सय रुपैयाँमा झरेको छ । हिजो मात्रै सुनको मूल्य तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै सबैभन्दा उच्च मूल्य हो । हिजो जति बढेको थियो, आज ठ्याक्कै त्यति नै मूल्य घटेको महासंघले जनाएको छ ।
यसअघि बुधबार सुनको मूल्य प्रतितोला ९ हजार ५ सय रुपैयाँले बढेर ३ लाख १८ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको एक साताको अवधिमा सुनको मूल्य कुल ५७ हजार ५ सय रुपैयाँले बढेको थियो, जुन आजको गिरावटसँगै घटेको हो ।
गत मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर ३ लाख ९ हजार ३ सय रुपैयाँ पुगेको थियो भने त्यसअघिल्लो सोमबार तोलामा ५ हजार २ सय रुपैयाँले वृद्धि भएको थियो । आइतबार सुनको भाउ तोलामा २ हजार ४ सय र शुक्रबार ९ हजार २ सय रुपैयाँले बढेको थियो ।
अघिल्लो साताको बुधबार एकैदिन तोलामा १० हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य बिहीबार भने २ हजार ९ सय रुपैयाँले घटेको थियो । त्यसयता निरन्तर उकालो लागेको सुनको मूल्यमा आज ठूलो गिरावट आएको हो ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज उल्लेख्य गिरावट आएको छ । चाँदीको मूल्य तोलामा ४ सय ४० रुपैयाँले घटेर आज ७ हजार ६५ रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य ७ हजार ५०५ रुपैयाँ पुगेको थियो, जुन चाँदीकै हालसम्मको उच्च मूल्य हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५३७ अमेरिकी डलर र चाँदी ११७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।