काठमाडौं । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्काले नेपाल विश्वशान्ति, सहअस्तित्व र समानतामा आधारित सम्बन्ध तथा भाईचाराको नीतिमा प्रतिवद्ध रहेको बताएका छन् ।
संयुक्त राष्ट्र संघको ७६औँ महासभालाई न्युयोर्कमा नेपालको तर्फवाट आज बिहान सम्बोधन गर्दै परराष्ट्रमन्त्री खड्काले आतंकवाद मानव अस्तित्वको शत्रु भएको उल्लेख गर्दै नेपालले आतंकवादको विरोध गरिरहेको बताए ।
आणविक हातहतियारको होडबाजीले विश्वको शान्ति र सहअस्तित्व माथि प्रश्न खडा गर्ने भएकोले नेपाल त्यसको पनि विपक्षमा रहेको उनले बताए । खड्काले दक्षिण एसिया तथा मध्यपूर्वका देशमा भएको द्वन्द्व र अशान्तिको विषय समेत उठाएका छन् ।
कोरोनाभाइरसको संक्रमणबाट ज्यान गुमाएका विश्वभरका नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परराष्ट्र मन्त्री खड्काले खोपको उपलब्धतामा गहिरिँदै गएको असमानताले न्यून आय भएका मुलुकमा ठूलो आर्थिक–सामाजिक असर पारेको बताए ।