मोरङ । नेपाली कांग्रेसका नेता डा. सुनिल शर्मा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै मोरङ निर्वाचन क्षेत्र नम्बर ३ मा घरदैलो अभियानमा सक्रिय भएका छन् । कांग्रेसको तर्फबाट उम्मेदवार बनेका शर्माले चुनावी प्रचार–प्रसारलाई तीव्र बनाउँदै मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गरेका हुन् ।
डा. शर्मा यसअघि २०७९ को आम निर्वाचनमा पनि यही क्षेत्रबाट विजयी भएका थिए । त्यतिबेला उनले एमालेका भानुभक्त ढकाललाई ठूलो मतान्तरले पराजित गरेका थिए । स्थानीय मतदाताहरूले शर्मालाई स्वास्थ्य र विकासमा योगदान गर्ने नेताका रूपमा लिने गरेका छन् ।
घरदैलो अभियानका क्रममा शर्माले सर्वसुलभ स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षा, स्थानीय विकास, रोजगारी सिर्जना र विपन्न वर्गको उत्थानलाई मुख्य एजेण्डा बनाएका छन् । उनले विपन्न तथा निम्न वर्गका परिवारलाई निःशुल्क स्वास्थ्य सेवा निरन्तर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएका छन् ।
त्यसैगरी अस्पताल, विद्यालय, सडक, पुललगायत पूर्वाधार विकासमा थप लगानी गर्ने योजना पनि उनले मतदातासँग राखेका छन् । अभियानमा सहभागी मतदाताहरूले शर्मालाई जिताएर पठाउने विश्वास व्यक्त गरिरहेका छन् ।
डा. शर्माले काँग्रेसको बदलिएको छवि, सुशासन र प्रभावकारी प्रतिनिधित्वको पक्षमा जोड दिँदै ७० हजारभन्दा बढी मत ल्याएर बलियो जनादेशसहित जित्ने लक्ष्य लिएको बताएका छन् ।