काठमाडौं । इरानमा पछिल्लो समय विकसित सुरक्षा तथा राजनीतिक अवस्थालाई ध्यानमा राख्दै नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकलाई तत्काल स्वदेश फर्कन आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आइतबार ‘ट्राभल एडभाइजरी’ जारी गर्दै अर्को सूचना जारी नभएसम्म इरान भ्रमण नगर्न समेत अनुरोध गरेको हो ।
मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई आपत्कालीन अवस्थामा सहज रूपमा बाहिरिन सक्ने गरी राहदानी, भिसा, परिचयपत्रलगायत आवश्यक यात्रा कागजात सुरक्षित र तयारी अवस्थामा राख्न आग्रह गरेको छ । साथै, सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै स्थानीय प्रशासनको निर्देशन पालना गर्न र सुरक्षित स्थानमा बस्न पनि भनिएको छ ।
समन्वय तथा सहयोगका लागि परराष्ट्र मन्त्रालय र कतारको दोहास्थित नेपाली राजदूतावाससँग सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । इरानमा नेपालका लागि आवासीय दूतावास नरहेकाले दोहास्थित दूतावासमार्फत कन्सुलर सेवा प्रदान हुँदै आएको छ ।