निर्वाचन विशेष

देउवापछिको डडेल्धुरा : कांग्रेसको विरासत जोगाउने जिम्मेवारी महरको काँधमा

२ महिना अगाडि
देउवापछिको डडेल्धुरा : कांग्रेसको विरासत जोगाउने जिम्मेवारी महरको काँधमा

डडेल्धुरा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढिरहेको छ। चिया पसलदेखि चोक–चौतारासम्म राजनीतिक बहस बाक्लिँदा सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरा यसपटक विशेष चर्चामा छ।

३४ वर्षदेखि निरन्तर चुनाव जित्दै आएका पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनावी मैदानमा नउत्रिँदा डडेल्धुराको राजनीतिक समीकरण फेरिएको छ। देउवाबिनाको पहिलो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले उनको राजनीतिक विरासत जोगाउने जिम्मेवारी युवा नेता नैनसिंह महरलाई सुम्पिएको छ।

विद्यार्थी राजनीतिबाट मूलधारसम्म

भागेश्वर गाउँपालिका–३ लामीकाडेका स्थायी बासिन्दा नैनसिंह महर विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । वि.सं. २०४६ सालदेखि राजनीतिमा सक्रिय महरले विद्यालय तहदेखि नै नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत राजनीतिक यात्रा सुरु गरेका थिए ।

२१ वर्षको उमेरमै २०५२ सालमा नेविसंघ डडेल्धुराको कार्यवाहक सभापति बनेका महर २०५६ मा जिल्ला सभापति निर्वाचित भए । २०५७ मा केन्द्रीय सदस्य बनेका उनी संगठनका विभिन्न तहमा रहेर काम गर्दै २०७३ सालमा नेविसंघको केन्द्रीय सभापति बने ।

लोकतन्त्र पुनःस्थापनाका लागि भएको २०६२/६३ को जनआन्दोलनमा सक्रिय भूमिका खेलेका महर संगठन विस्तार र लोकतान्त्रिक मूल्य स्थापनामा उनको योगदानलाई कांग्रेसभित्र महत्वपूर्ण मानिन्छ ।

महर राजनीतिसँगै पत्रकारितामा पनि परिचित नाम हुन् । उनी डडेल्धुरा शाखा नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्षसमेत भए । लेखन क्षेत्रमा समेत दख्खल राख्ने महर ‘नेपाली कांग्रेसका भातृ संगठन’, ‘अबको कांग्रेस’ जस्ता पुस्तकका लेखक हुन् ।

शिक्षा र लोकतान्त्रिक चेतना विस्तारका लागि ‘स्कूल अफ डेमोक्रेसी’ अभियान सञ्चालन गरिरहेका महर त्यसका केन्द्रीय अध्यक्ष पनि हुन् । विद्यार्थी नेतृत्वका क्रममा उनले कन्स्ट्रक्टिभ स्टुडेन्ट अवार्ड र बेलायती संस्थाबाट स्टुडेन्ट लिडर अवार्ड–२०१० जस्ता सम्मान प्राप्त गरेका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका महर यसपटक पहिलो पटक प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । देउवाको उत्तराधिकारीका रूपमा मैदानमा उत्रिएका उनलाई बलियो संगठन, लामो राजनीतिक अनुभव र जिल्लामा भिजेको अनुहारको रूपमा हेरिएको छ ।

महर डडेल्धुरालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन देउवाले थालेका तर पूरा हुन नसकेका योजनालाई अगाडि बढाउने प्रतिबद्धता जनाउँछन् । एकमात्र निर्वाचन क्षेत्र रहेकाे डडेलधुराका नागरिकलाई निराश नबनाउने गरी काम गर्ने उनको योजना छ ।

'पुरानो पुस्ताले थालेका तर अधुरा रहेका काम र नयाँ पुस्ताका आकांक्षालाई देउवाको उत्तराधिकारीको रूपमा पूरा गर्ने जिम्मेवारी मेरो हो,' महर भन्छन्, 'कांग्रेसलाई जनताको अझ नजिक लैजान र युवाको आवाज संसदमा बुलन्द गराउन चाहन्छु।'

अन्य दल पनि मैदानमा

देउवाको अनुपस्थितिसँगै डडेल्धुरामा प्रतिस्पर्धा थप चर्किएको छ। कांग्रेसका महरसँगै १० राजनीतिक दल र ३ स्वतन्त्र गरी १३ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

नेकपा एमालेबाट चक्रप्रसाद स्नेही, नेकपाबाट मानसिंह माल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ताराप्रसाद जोशी र राप्रपाबाट गोविन्द खडायत प्रमुख प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।

रास्वपाका उम्मेदवार जोशी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभाको चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। उनले देउवा उम्मेदवार नहुँदा चुनाव जित्न सजिलो हुने दाबी गरेका छन्। एमालेका स्नेही राष्ट्रिय सभाका पूर्वसदस्य हुन् भने नेकपाका माल माओवादी पृष्ठभूमिका अनुभवी नेता हुन् ।

यसैगरी आम जनता पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, जयमातृभूमि पार्टी र श्रम संस्कृति पार्टीका उम्मेदवारसँगै तीन जना स्वतन्त्र उम्मेदवारले पनि प्रतिस्पर्धा गरिरहेका छन्।

देउवाबिनाको चुनाव, तर कांग्रेसको भरोसा

देउवाको अनुपस्थितिले चुनावी समीकरण फेरिए पनि कांग्रेसभित्र महरप्रति भरोसा देखिन्छ। ३४ वर्षसम्म देउवाले जोगाएको कांग्रेसको वर्चस्व कायम राख्ने अवसरसँगै चुनौती पनि महरकै सामुछ । 

देउवाबिनाको डडेल्धुरा कांग्रेसका लागि नयाँ अध्याय हो । र अरु उम्मेदवारका लागि उत्साह पनि हुनसक्छ । बाँकी मतदाताकाे विश्वास फागुन २१ मा मतपेटिकाबाट प्रष्टिन्छ ।