चक्रवात ‘अर्नब’को प्रभावले दुई दिन भारी वर्षा र हिमपातको जोखिम

२ हप्ता अगाडि
चक्रवात ‘अर्नब’को प्रभावले दुई दिन भारी वर्षा र हिमपातको जोखिम

काठमाडौं । बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालमा कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ र हावाहुरीको सम्भावना रहेकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्राधिकरणले सूचना जारी गर्दै कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुने तथा केही स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ ।

प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमानअनुसार चक्रवात ‘अर्नब’को प्रभाव कात्तिक १३ गते शुक्रबारदेखि नेपालमा पर्न सक्ने अनुमान गरिएको छ ।

चक्रवातको प्रभाव कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा समेत पर्ने र वर्षा हुन सक्ने प्राधिकरणले जनाएको छ । त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले विशेष सावधानी अपनाउन आग्रह गरिएको छ ।

सम्भावित विपद्बाट जोगिन प्राधिकरणले उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा नगर्न, अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा नदी, खोला किनार र बाढीको जोखिम भएका क्षेत्रमा नबस्न अनुरोध गरेको छ । मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा गर्नुअघि मौसमको अवस्था बुझ्न र जोखिमयुक्त क्षेत्रमा जानबाट जोगिन पनि आवश्यक देखिएको छ ।

प्राधिकरणले मौसम पूर्वानुमान तथा आधिकारिक पूर्वसूचनालाई नियमित रूपमा अवलोकन गर्न र विपद्को जोखिम देखिएमा तत्काल सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

आपतकालीन अवस्थामा आवश्यक सहयोग लिन मौसमसम्बन्धी जानकारीका लागि ११५५, विपद् सहायताका लागि १२३४, नेपाल प्रहरीका लागि १०० र पर्यटक प्रहरीका लागि ११४४ मा सम्पर्क गर्न सकिने प्रवक्ता केसीले जानकारी दिएका छन् ।