इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

२ हप्ता अगाडि
इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलर नाघ्यो

काठमाडौं । इरानसँगको युद्धमा अमेरिकाको खर्च ४७ अर्ब डलरभन्दा बढी पुगेको छ । अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को पछिल्लो अनुमानअनुसार युद्धमा प्रयोग भएका हतियारको भण्डार पुनः भर्न र गुमाएका सैन्य उपकरण प्रतिस्थापन गर्न मात्रै ३५ अर्ब डलरभन्दा बढी खर्च लाग्ने देखिएको छ ।

समाचार संस्था रोयटर्सले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार युद्धको कुल खर्च गत जुलाईमा अनुमान गरिएको ३७ अर्ब ५० करोड डलरभन्दा २५ प्रतिशतभन्दा बढीले बढेको छ । रोयटर्सले प्राप्त गरेको तथ्यांकमा युद्ध सञ्चालनको खर्चसँगै प्रयोग भएका हतियार पुनः खरिद गर्न र गुमाएका सैन्य उपकरण प्रतिस्थापन गर्न लाग्ने रकमसमेत समावेश छ ।

पेन्टागनको अनुमानअनुसार युद्धमा प्रयोग भइसकेका क्षेप्यास्त्र तथा अन्य हतियार पुनः खरिद गर्न २९ अर्ब डलरभन्दा बढी खर्च लाग्नेछ । त्यस्तै, युद्धमा गुमाएका विमान, ड्रोनलगायतका सैन्य उपकरण प्रतिस्थापन गर्न थप ६ अर्ब डलरभन्दा बढी आवश्यक पर्नेछ ।

हतियारको भण्डार पुनः भर्ने र सैन्य उपकरण प्रतिस्थापन गर्ने यी खर्च युद्धको ४७ अर्ब डलरभन्दा बढीको समग्र लागतभित्र समेटिएका छन् । युद्ध सञ्चालनमा भइरहेको खर्च र सैन्य सामग्रीको क्षतिलाई जोड्दा अमेरिकामाथि पर्ने आर्थिक भार थप बढ्न सक्ने देखिएको छ ।

यद्यपि, पेन्टागनको पछिल्लो अनुमानमा समेटिएका खर्चका सबै विवरण सार्वजनिक रूपमा स्पष्ट नभएकाले युद्धको वास्तविक कुल लागत अझै बढ्न सक्ने रोयटर्सको विवरणले संकेत गरेको छ