चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला, शनिबार कार्यसमिति बैठक बोलाइयो

२ हप्ता अगाडि
चार महिनापछि खुल्यो एन्फा कार्यालयको ताला, शनिबार कार्यसमिति बैठक बोलाइयो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को ललितपुरस्थित सातदोबाटोमा रहेको कार्यालयको ताला चार महिनापछि खोलिएको छ । एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको नेतृत्वमा बहुमत सदस्यले बुधबार कार्यालयको ताला खोलेका हुन् ।

कार्यालय खुलेपछि खड्काकै नेतृत्वमा एन्फा कम्प्लेक्समा छलफल भएको थियो । छलफलमा वरिष्ठ उपाध्यक्ष खड्कासहित विराटजंग शाही, दीपक खतिवडा, कुमार केसी, रुपेश अधिकारी, टीका लामा, भरत बुढा थापा, महेन्द्र क्षेत्री र मनिष जोशी गरी नौ जना सहभागी थिए ।

छलफलले यही कात्तिक १३ गते शनिबार एन्फा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको वरिष्ठ उपाध्यक्ष खड्काले जानकारी दिए । उनका अनुसार बैठकमा मुख्य रूपमा तहगत निर्वाचन र एन्फामाथिको निलम्बन फुकुवालगायत विषयमा छलफल हुनेछ ।

“नेपाली फुटबललाई निकास दिनका लागि छलफल अघि बढाइएको हो । १३ गतेको बैठकले मुख्यतः तहगत निर्वाचन, एन्फामाथिको निलम्बन फुकुवालगायतका एजेन्डामाथि छलफल गर्नेछ,” खड्काले भने ।

आफूहरूले समयअगावै निर्वाचनको माग गरे पनि अध्यक्ष र महासचिवले तहगत निर्वाचनको सट्टा केन्द्रीय निर्वाचनमा मात्रै ध्यान दिँदा अहिलेको अवस्था आएको खड्काले दाबी गरे । छलफलमा सहभागी सदस्यहरूले पनि अध्यक्ष र महासचिवले एकलौटी ढंगले अघि बढ्दा एन्फामा समस्या उत्पन्न भएको बताएका थिए ।

खड्काले शनिबारको बैठकमा सहभागी हुन सबै कार्यसमिति सदस्यलाई आग्रह गरिएको बताए । अध्यक्ष र महासचिव अनुपस्थित भए पनि एन्फाको विधानअनुसार बैठक बसेर अघि बढ्ने निर्णय गरिएको उनको भनाइ छ ।

बुधबार एन्फा कम्प्लेक्समा भएको छलफलका विषयमा राष्ट्रिय खेलकुद परिषद् र शिक्षा तथा खेलकुद मन्त्रालयलाई जानकारी गराउने निर्णयसमेत गरिएको छ । शनिबारको बैठकले गर्ने निर्णयबारे राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय, एसियाली फुटबल महासंघ (एएफसी) र विश्व फुटबल महासंघ (फिफा) लाई पत्राचार गर्ने तयारी रहेको खड्काले बताए ।

अध्यक्ष पंकजविक्रम नेम्वाङलाई एन्फा विधानअनुसार कार्यसमिति बैठक बोलाउन लिखित माग गरिए पनि बैठक नबोलाइएपछि ताला खोलेर छलफल गरिएको उनीहरूको भनाइ छ ।

यसैबीच, एन्फा अध्यक्ष नेम्वाङसहितका पदाधिकारीविरुद्ध केन्द्रीय अनुसन्धान ब्युरोले खेल ठगीसम्बन्धी कसुरमा मुद्दा चलाएको छ ।