काठमाडौं । स्पेनको मध्यभागमा दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ । दुर्घटनामा ठूलो संख्यामा यात्रु घाइते भएका छन् ।
राजधानी मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको तीव्र गतिको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किँदा दुर्घटना भएको हो । ठक्करको प्रभावले रेलका धेरै डिब्बा लिकबाट तल खसेका थिए ।
यातायात मन्त्रीका अनुसार कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताइएको छ । यद्यपि, दुर्घटनाको वास्तविक कारणबारे थप अनुसन्धान आवश्यक रहेको छ ।
दुर्घटनालाई युरोपको आधुनिक इतिहासकै गम्भीर रेल दुर्घटनामध्ये एकका रूपमा वर्णन गरिएको छ । साथै, यो पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटना भएको बताइएको छ ।
उद्धार गरिएका यात्रुहरूले दुर्घटनाको क्षण निकै भयावह रहेको बताएका छन् । ठक्करका क्रममा यात्रुहरू हावामा उछिट्टिएको, केही मानिस भग्नावशेषमा फसेको र रेलभित्रबाट बाहिर निस्कन झ्याल फुटाउनुपरेको उनीहरूले बताएका छन् ।
दुर्घटना मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा रहेको मोरा र ओर्गाज नगरपालिकाबीचको क्षेत्रमा भएको थियो । दुर्घटनापछि उद्धारकर्मीहरूले घाइतेको उद्धार तथा भग्नावशेषमा फसेका यात्रुको खोजीमा जुटेका थिए ।