चक्रवात अर्नब

शनिबारसम्म वर्षा र हिमपात, आइतबारदेखि मौसम सुध्रिने

२ हप्ता अगाडि
शनिबारसम्म वर्षा र हिमपात, आइतबारदेखि मौसम सुध्रिने

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अर्नबको प्रभावले नेपालमा शनिबारसम्म वर्षा र हिमपात हुने भएको छ । भारत हुँदै नेपालतर्फ अघि बढिरहेको प्रणालीका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका विभिन्न स्थानमा मध्यमसम्मको वर्षा हुनेछ । आज बेलुकीदेखि शनिबारसम्म केही स्थानमा ठूलो वर्षा र हिमपात हुन सक्ने अनुमान गरिएको छ । आइतबारदेखि भने मौसममा क्रमिक सुधार आउने महाशाखाको पछिल्लो मौसमी बुलेटिनमा उल्लेख छ ।

मौसमका जानकार उज्ज्वल उपाध्यायका अनुसार चक्रवातको प्रभावले नेपालमा वर्षा र हिमपात भए पनि भारतमा जस्तो तीव्र हावाहुरी चल्ने सम्भावना छैन । नेपालबाट करिब दुई हजार किलोमिटर टाढा रहेको यो प्रणाली नेपालसम्म आइपुग्दा निकै कमजोर भइसक्ने उनको भनाइ छ ।

उनका अनुसार आज बेलुकीदेखि देशका विभिन्न स्थानमा वर्षा सुरु हुनेछ भने शुक्रबार वर्षा थप तीव्र हुन सक्छ ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा पनि मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

त्यस्तै, कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा ठूलो वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा पनि ठूलो वर्षा र हिमपातको सम्भावना रहेको छ ।

सम्भावित वर्षा र हिमपातलाई ध्यानमा राख्दै मौसमविद्हरूले शनिबारसम्म धान नकाट्न, उच्च हिमाली क्षेत्रमा नजान र सुरक्षित स्थानमा रहन सुझाव दिएका छन् । अत्यावश्यक कामबाहेक यात्रा नगर्नसमेत उनीहरूले आग्रह गरेका छन् ।