काठमाडौं । सेयर बजारमा बिहीबार उत्साहजनक वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेको छ । यो वृद्धि १.१८ प्रतिशत हो ।
परिसूचक बढेसँगै कारोबार रकम पनि ८ अर्ब रुपैयाँ नाघेको छ । दिनभर ३५० वटा स्क्रिप्सका २ करोड ३२ लाख ५८ हजार कित्ता सेयर ६९ हजार ६१९ पटक किनबेच हुँदा ८ अर्ब ५७ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका कम्पनीमध्ये १८१ वटाको सेयर मूल्य बढेको छ भने ९१ वटाको घटेको छ । ६ कम्पनीको मूल्य स्थिर रहेको छ ।
बेनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १५ प्रतिशत प्रतिफल पाएका छन् । स्वाभिमान लघुवित्तको सेयर मूल्य ८.७२ प्रतिशत, नेपाल पुनर्बीमा कम्पनीको ५.६१ प्रतिशत, नेपाल फाइनान्सको ५.४९ प्रतिशत र एनआइसी एसिया बैंकको ४.६९ प्रतिशतले बढेको छ ।
समूहगत कारोबारमा बैंकिङ समूह सबैभन्दा धेरै २.२८ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन र अन्य समूह समान २.०५ प्रतिशतले उकालो लागेका छन् । फाइनान्स समूह १.६९ प्रतिशत र विकास बैंक समूह १.५५ प्रतिशतले बढेका छन् । अन्य समूहमा भने एक प्रतिशतभन्दा कम वृद्धि देखिएको छ ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ६१ लाख ६८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सिद्धार्थ बैंकको २५ करोड ३८ लाख रुपैयाँ, लक्ष्मी सनराइज बैंकको २४ करोड २७ लाख रुपैयाँ र कुमारी बैंकको २३ करोड ५९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।