काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात "अर्नब"को प्रभावले आगामी केही दिन नेपालका विभिन्न क्षेत्रमा वर्षा भई प्रमुख राजमार्गमा पहिरो, बाढी तथा सडक कटानको जोखिम बढ्न सक्ने देखिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको बाढी पूर्वानुमान महाशाखा र भौगर्भिक तथा जल उत्पन्न विपद् अनुसन्धान शाखाले बिहीबार सम्भावित जोखिमबारे प्रारम्भिक आकलनसहित पूर्वसूचना जारी गरेका हुन् ।
सूचनाअनुसार विशेषगरी नारायणी, बागमती र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षा हुँदा पहाडी र भिरालो भूभाग भएका सडक खण्डमा पहिरो खस्ने, ढुंगा झर्ने र सडक भासिने जोखिम छ । नदी किनारका सडकमा जलसतह बढेर बाढी तथा कटान हुन सक्ने सम्भावना पनि औंल्याइएको छ ।
वर्षाका कारण साना तथा ठूला खहरे खोलामा पानीको बहाव बढ्दा कल्भर्ट र सडक संरचनामा क्षति पुग्न सक्ने जनाइएको छ । पहिरो र बाढीका कारण सडक अवरुद्ध भए यातायात सञ्चालनसँगै अत्यावश्यक वस्तुको ढुवानीसमेत प्रभावित हुन सक्ने जोखिम छ ।
पूर्वसूचनामा नारायणगढ–मुग्लिन सडक खण्डका त्रिशूली र नारायणी नदी किनार, कोशी राजमार्ग, सिद्धार्थ राजमार्गका संवेदनशील पहिरो क्षेत्र, कान्ति राजमार्ग, अरनिको राजमार्ग तथा बागमती जलाधारसँग जोडिएका सडक खण्डलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा समेटिएको छ । विगतमा पहिरो जाने गरेका अन्य सडक खण्ड तथा नदी किनारका राजमार्गमा पनि सतर्कता अपनाउन भनिएको छ ।
सम्बन्धित निकायले अत्यावश्यक कामबाहेक वर्षाका बेला राजमार्गमा यात्रा नगर्न आग्रह गरेका छन् । यात्रा गर्नैपर्ने भए ट्राफिक प्रहरी वा सम्बन्धित सडक कार्यालयबाट पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न अपिल गरिएको छ ।