भुटानमा हिमताल फुटेर बाढी, १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

२ हप्ता अगाडि
भुटानमा हिमताल फुटेर बाढी, १० हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

काठमाडौं । भुटानको गसा जिल्लास्थित लेम्थाङ क्षेत्रमा हिमताल फुटेपछि आएको बाढीले जनजीवन प्रभावित भएको छ । मो छु नदी हुँदै सङ्कोश नदीतर्फ तीव्र गतिमा बाढी बगेपछि भारतको पश्चिम बंगालका अधिकारीहरूले उच्च सतर्कता अपनाएका छन् । सम्भावित जोखिमलाई ध्यानमा राख्दै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

भुटानको राष्ट्रिय सञ्चारमाध्यम भुटान ब्रोडकास्टिङ सर्भिस (बीबीएस) का अनुसार शुक्रबार राति आएको बाढीले गसा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल गसा छाछु प्राकृतिक तातोपानी क्षेत्रका पूर्वाधारमा क्षति पुर्‍याएको छ । घटनामा हालसम्म मानवीय क्षति वा घाइते भएको विवरण प्राप्त नभएको जनाइएको छ ।

रातिको समयमा बाढी आएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भएको छ । अँध्यारो र पानीको तीव्र बहावका कारण क्षतिको आकलन गर्न समस्या भइरहेको बीबीएसले जनाएको छ । बाढीले दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ ।

भुटानी पत्रिका कुएनसेलका अनुसार तातोपानी क्षेत्रतर्फ जाने लाया गाउँको सडकका केही भाग बाढीले बगाएपछि आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त सडक अनिश्चितकालका लागि बन्द गरिएको छ । बाढी तातोपानी क्षेत्रमा पुग्नुअघि नै सो क्षेत्र खाली गराइएको जनाइएको छ ।

हिमताल फुटेको खबरपछि पश्चिम बंगाल प्रशासनले विपद् व्यवस्थापन संयन्त्र सक्रिय बनाएको छ । सङ्कोश नदी र यसका सहायक नदी किनारमा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ । दार्जिलिङ र डुअर्स क्षेत्रका बासिन्दालाई पनि सतर्क रहन भनिएको छ ।

दार्जिलिङका सांसद राजु बिष्टले सामाजिक सञ्जाल एक्समार्फत नदी तटीय क्षेत्रमा बस्ने मानिसलाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन् । भुटानको लेम्थाङ क्षेत्रमा हिमताल फुटेपछि मो छु हुँदै सङ्कोश नदीतर्फ बाढी बगिरहेकाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन उनले बताएका छन् ।

राज्यमन्त्री निसिथ प्रामाणिकले सङ्कोश र मो छु नदी आसपासका बासिन्दालाई सतर्क गराइएको जानकारी दिएका छन् । पानी पाँचदेखि छ घण्टाभित्र मैदानी भागमा पुग्न सक्ने अनुमान गरिएपछि राज्य विपद् व्यवस्थापन टोली र राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) परिचालन गरिएको उनले बताएका छन् ।

अलिपुरद्वारका प्रहरी प्रमुख अमित कुमार शाहले अवस्था निगरानीमा रहेको र आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् । जिल्ला प्रशासन, भुटानी अधिकारी र अन्य निकायबीच निरन्तर समन्वय भइरहेको उनले जानकारी दिएका छन् । क्षेत्रमा राज्य विपद् प्रतिक्रिया बल (एसडीआरएफ) खटाइएको छ भने एनडीआरएफ र नागरिक सुरक्षा टोली पनि तयारी अवस्थामा राखिएका छन् ।

प्रहरी प्रमुख शाहका अनुसार करिब चारदेखि पाँच हजार मानिसलाई विद्यालय भवनमा बनाइएका राहत शिविरमा सारिएको छ भने थप छ हजारभन्दा बढीलाई सुरक्षित स्थानमा लगिएको छ । पछिल्लो जानकारीअनुसार पानीको बहाव केही घटे पनि प्रशासनले उच्च सतर्कता कायम राखेको छ ।

राहत शिविरमा सुक्खा खाना, पिउने पानी र शौचालयको व्यवस्था गरिएको छ । सङ्कोश नदी क्षेत्रमा रेड अलर्ट जारी गरिएको छ ।

हिमतालमा पानी थुनेर राख्ने प्राकृतिक बाँध फुट्दा ठूलो मात्रामा पानी तल्लो क्षेत्रमा बग्ने घटनालाई हिमताल विस्फोटजन्य बाढी भनिन्छ । यस्तो बाढीले सडक, पुल, बस्ती र अन्य पूर्वाधारमा ठूलो क्षति पुर्‍याउन सक्छ । भुटानको गसा जिल्लामा वाकिला पहाडमुनि रहेको शिन्ताफु ताललाई देशका १७ जोखिमयुक्त हिमतालमध्ये एक मानिने विवरणमा उल्लेख छ ।