चक्रवात ‘अर्नब’को प्रभाव : आज देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा

२ हप्ता अगाडि
चक्रवात ‘अर्नब’को प्रभाव : आज देशभर वर्षा र हिमपातको सम्भावना, केही स्थानमा भारी वर्षा

काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावसँगै बंगालको खाडीमा विकसित चक्रवात "अर्नब"को प्रभाव नेपालमा देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशभर सामान्यतया बादल लागेको छ भने कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

महाशाखाले शुक्रबार देशका अधिकांश स्थानमा बादल लाग्ने र विभिन्न प्रदेशमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुने सम्भावना रहेको जनाएको छ ।

दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका धेरै स्थानमा वर्षा र हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका अन्य भूभागका धेरै स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान छ । मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ ।

शुक्रबार राति पनि देशभर अधिकांश बदली रहनेछ । देशका अधिकांश स्थानमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने र केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ ।

वर्षा र हिमपातका कारण पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा पानीको बहाव बढ्ने र सडक यातायात प्रभावित हुन सक्ने जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ ।