माैसम पूर्वानुमान

आज पनि वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

१ हप्ता अगाडि
आज पनि वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । बिहीबार साँझदेखि सुरु भएको वर्षा आज पनि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोसी, मधेस र वाग्मती प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । ती प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ । गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ ।

आज दिउँसो कोसी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने महाशाखाको पूर्वानुमान छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

राति पनि देशभर साधारणतया बादल लाग्नेछ । हिमाली भूभागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुन सक्नेछ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार आज अपराह्नदेखि यी मौसमी प्रणालीको प्रभाव क्रमशः कमजोर हुँदै जानेछ ।