फ्लोरिडा । अमेरिकाको फ्लोरिडास्थित आवासीय क्षेत्रमा आइतबार बिजनेस जेट दुर्घटनाग्रस्त हुँदा विमानमा सवार सबै नौ जनाको मृत्यु भएको छ । दुर्घटना पाम बीच काउन्टीको क्रेस्टहेभननजिकै स्थानीय समयअनुसार दिउँसो करिब १२ः५० बजे भएको हो ।
अमेरिकी यातायात मन्त्रीका अनुसार दुर्घटनास्थल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रिसोर्ट मार–ए–लागोबाट करिब १४ किलोमिटर टाढा पर्छ । दुर्घटनापछि सार्वजनिक भएका तस्बिरमा आवासीय सडकमा ठूलो खाल्डो परेको र त्यहाँ आगोको ज्वालासँगै विमानका टुक्रा छरिएको देखिन्छ ।
अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए)का अनुसार दुर्घटनाग्रस्त लियरजेट ६० विमान टेक्सासको अस्टिनबाट उडेर बहामासतर्फ जाँदै थियो ।
सामाजिक सञ्जालमा सार्वजनिक भएको अपुष्ट भिडियोमा उपनगरीय आवासीय सडकमा सवारीसाधन गुडिरहेका बेला विमान लगभग ठाडो रूपमा जमिनमा खसेको र त्यसपछि ठूलो आगोको गोला बनेको देखिन्छ ।
फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले दुर्घटनापछि आयोजित पत्रकार सम्मेलनमा घटनास्थलको दृश्य निकै भयावह रहेको बताए । विमानमा सवार व्यक्तिहरूको पहिचान भने तत्काल स्पष्ट भइसकेको छैन ।
गभर्नर डिसान्टिसका अनुसार दुर्घटनामा जमिनमा रहेका अन्य व्यक्तिको मृत्यु वा घाइते भएको विवरण प्राप्त भएको छैन ।
अमेरिकी यातायात मन्त्री शोन डफीले घटनालाई भयावह त्रासदीको संज्ञा दिँदै दुर्घटनाको अनुसन्धानका लागि राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)लाई सहयोग गर्न एफएएले टोली दुर्घटनास्थल पठाउन लागेको जानकारी दिएका छन् । दुर्घटनाको कारणबारे भने अनुसन्धानपछि मात्रै स्पष्ट हुने अपेक्षा गरिएको छ।